काठमाडौं । फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिगको आयोजना अनिश्चित बनेको छ । बर्षको सुरुवातमा आयोजना गर्ने तयारी गरिएको प्रतियोगिता निर्धारित समय भन्दा पछाडी धकेलिने पक्का भएको हो ।
गत बर्ष पुसको तेस्रो साता अखिल नेपाल फुटबल संघ एन्फा र नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टबीच प्रतियोगिता सञ्चालनको सम्बन्धमा प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।
दुवै पक्षले २०७६ सालको बैशाख र जेठभित्रमा फ्रेन्चाइज लिग आयोजना सक्ने गरि अघि बढ्ने सहमती भएको बताएका थिए ।
तर सम्झौताको चार महिना बितिसक्दा समेत ठोस रुपमा काम अघि बढ्न सकेको छैन । प्रतियोगिता आयोजनाको मोडल, सहभागि टिम, आयोजना स्थल लगायतका सामान्य बिषय समेत टुङ्गिन सकेको छैन ।
नेपालको सबै भन्दा प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी अध्यक्ष रहेको कम्पनी नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टले फ्रेन्चाइज आयोजनाको जिम्मेवारी लिएको थियो ।
एन्फाले भर्खरै मात्र चौधरी ग्रुपको मुख्य प्रायोजनमा मुलुकभर विद्यालयस्तरीय फुटबल प्रतियोगिता गर्ने सम्झौता गरेर प्रक्रिया अघि बढाएको छ ।
तर करिब ४ महिना अगाडी घोषणा भएको फ्रेन्चाइज लिग आयोजनाको बिषयमा प्रक्रिया अघि बढ्न सकेको छैन ।
तर प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टले प्रतियोगिता यसै बर्ष आयोजना हुने बताएको छ ।
‘बर्षको सुरुमा गर्ने तयारी थियो । तर नहुने देखिएको छ । नयाँ मितिको बिषयमा चाँडै टुङ्गो लगाउँछौ ।’ आयोजक कम्पनीका एक सदस्यले खेलपाटीसंग भने ।
अन्तराष्ट्रिय स्तरको भनिने एकमात्र दशरथ रंगशालामा पुर्ननिर्माणको काम भईरहेकाले फ्रेन्चाईज फुटबल आयोजनाको प्रक्रिया अघि बढ्न नसकेको हो ।
ईभेन्ट म्यानेजमेन्ट कम्पनीले रंगशालाको पुनर्निमाणको काम सकिएपछि मात्र प्रतियोगिता आयोजनाको काम अघि बढाउने तयारी गरेको छ ।
‘दशरथ रंगशालामै प्रतियोगिता गर्ने योजना हो । तर रंगशला पुनर्निर्माणको अवस्थामा छ ।’ उनले थपे, ‘दर्शकको उपस्थिती र फुटबलको लोकप्रियतालाई हेरेर रंगशालामै फ्रेन्चाइज गर्ने गरि नयाँ मिति तोक्छौ ।’