काठमाडौं । चौथो संस्करणको सिन्धु कप फुटबल प्रतियोगितामा ए डिभिजनका ४ क्लबले सहभागिता जनाउने भएका छन् । बैशाख २१ गतेबाट सञ्चालन हुने प्रतियोगितामा विभागीय टिम आर्मी र एपीएफसंगै जावलाखेल युथ क्लब र फ्रेण्ड्स क्लबले समेत सहभागिता जनाउनेछन् ।
प्रतियोगिताका खेलहरु बसन्तपुर खेल मैदान लामोसांघुमा हुनेछ । प्रतियोगिता बैशाख २८ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा काभ्रेपलान्चोकको काभ्रे बोर्डर युथ क्लब, रुपन्देहीको गोर्खा ब्वाइज क्लब, सिन्धुपाल्चोकको युथ स्पोर्टस् क्लब र दोलखाको जिरी स्पोर्टस् क्लबले सहभागिता जनाउनेछन् ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले साँढे २ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ दी म्याचले ५ हजार र विधागत तर्फका उत्कृष्टले जनही १० हजार पाउनेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई २० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।