एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले सनराईजर्स हैदरावादलाई जितका लागि १६३ रनको लक्ष्य दिएको छ ।
वान्खाडे क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १६२ रन बनायो । मुम्बईका लागि क्विनटन डी ककले अविजित रहदै ६९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान रोहित शर्माले २४ तथा सूर्यकुमार यादवले २३ रन बनाए ।
हैदरावादका खलिल अहमेदले ३ विकेट लिए ।
आज दुवै टोली जित निकाल्दै प्ले अफ पुग्ने सम्भावना बलियो बनाउने लक्ष्यसहित मैदान उत्रिएका छन् । प्ले अफ पुग्न दुवैको लागि यस खेल निकै महत्वपूर्ण रहेको छ ।
घरेलु टोली मुम्बई १२ खेलबाट १४ अंक जोडेर तेस्रो स्थानमा छ । हैदरावादलाई पराजित गर्दै मुम्बई प्ले अफ पुग्न चाहन्छ । मुम्बई दोस्रो स्थानको दिल्ली क्यापिटल्स भन्दा २ र शीर्ष स्थानको चेन्नईभन्दा ४ अंकले पछि छ ।
यता, हैदरावाद घरेलु टोलीलाई पराजित गर्दै प्ले अफको सम्भावना कायम गर्न चाहन्छ । चौंथो स्थानको हैदरावादले १२ खेलबाट १२ अंक जोडेको छ ।
यस्तै हैदरावाद मुम्बईसंग अघिल्लो भेटमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ । यसै सिजनको पहिलो भेटमा मुम्बईले हैदरावादलाई ४० रनले हराएको थियो ।