काठमाडौं । सरस्वती युवा क्लब दोस्रो संस्करणको रोज बहिनी चन्द्रागिरी गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बिहिबार भएको सेमिफाइनलमा ग्रान्डमास्टर जावलाखेल युथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै सरस्वती उपाधि नजिक पुगेको हो ।
चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा सरस्वतीले आत्मघाती गोलबाट जित निकालेको हो । खेलको दोस्रो मिनेटमा नै जावलाखेलका डिफेन्डर गौतम श्रेष्ठले आत्मघाती गोल गरेका थिए ।
अब सरस्वतीले उपाधिका लागि शुक्रबार हुने एपीएफ र च्यासलबीचको विजेतासँग आइतबार प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ पाउनेछन् ।