काठमाडौं । महिलाको फ्रेन्चाईज क्रिकेट लिग 'वुमन्स च्याम्पियन्स लिग' का लागि खेलाडी दर्ता खुल्ला गरिएको छ ।
आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टले बिहिबार प्रेस विज्ञप्ति निकाल्दै खेलाडी दर्ता प्रक्रिया सुरु भएको जनाएको छ ।
खेलाडी दर्ता प्रक्रिया आगामी वैशाख २५ गतेसम्म रहने आयोजकले जनाएको छ ।
दर्ताका लागि आयोजकले खेलाडीहरूलाई डायमण्ड, सफायर, रुबिज र वाइल्ड कार्ड इन्ट्री गरी चार श्रेणीमा विभाजन गरेको छ ।
डायमण्ड श्रेणीमा अहिले राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडीहरू पर्ने छन् । यस्तै रुबिजमा राष्ट्रिय टोलीबाट कुनै पनि अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरिसकेका र सफायरमा क्षेत्र वा प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीहरू पर्ने छन् ।
वाइल्ड कार्ड इन्ट्रीमा ट्यालेन्ट हन्टमार्फत छनोट भएर आएका खेलाडीहरू पर्ने छन् । प्रतियोगितामा सहभागी प्रत्येक टोलीले दुई÷दुई जना वाइल्ड कार्ड इन्ट्रीका खेलाडीलाई समावेश गर्नुपर्ने छ ।
खेलाडीले यस लिंकमा गएर नाम दर्ता गराउन सक्नेछन् ।
पहिलो संकरणको लिगमा ललितपुर फाल्कोन्स,पोखरा पल्टन,क्यापिटल रोयल्स काठमाडौँ, चितवन राइनोज र विराटनगर टाइटन्सले प्रतिस्पर्धा गर्ने छन् ।
पाँचै टिमका मार्की खेलाडी राष्ट्रिय टोलीका सदस्यहरु रहेका छन् । सिर्जना जोशीको टिम ललितपुरका मार्की खेलाडी नेरी थापा रहेकी छिन् ।
यस्तै विनायक पोखरेलको टिम पोखराको मार्की खेलाडी सिता राना मगर, दिपा अग्रवालको टिम क्यापिटलको मार्की खेलाडी रुबिना क्षेत्रि, मिङमा टण्डु शेर्पाको टिम चितवनको मार्की खेलाडी इन्दु बर्मा र पारस लुनियाको टिम विराटनगरको मार्की खेलाडी सरिता मगर रहेकी छिन् ।