काठमाडौं । एएफसी कप अन्तर्गत भारतीय क्लब मिनेर्भा पन्जाबविरुद्ध प्रतिस्पर्धा गरेर नेपालको लिग च्याम्पियन सिग्नेचर मनाङ मर्स्याङ्दी क्लब स्वदेश फर्किएको छ ।
भारतीय आई लिग च्याम्पियन मिनेर्भासंग एक अंक जोडेको मनाङको टोली बिहिबार अपरान्ह स्वदेश फर्किएको हो ।
भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा बुधबार भएको खेलमा मनाङले घरेलु टोली मिनेर्भासंग २-२ गोलको बराबरी खेलेको थियो ।
मिनेर्भाका लागि श्रेयस गोपालन र करीम नुरेनले एक एक गोल गरे । मनाङका अभिषेक रिजाल र एडिलाजा सोमीडेले एक एक गोल फर्काए ।
मिनेर्भासंगको बराबरीसंगै मनाङले तेस्रो खेलपछि पहिलो १ अंक जोडेको थियो । यसअघि मनाङ दुई खेलमा पराजित भएको थियो ।
प्रतियोगिताको पहिलो खेलमा मनाङ बंगलादेशको अबहानी लिमिटेडसँग १–० ले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा भारतको सुपर लिग च्याम्पियन चेन्नाईन एफसीसँग २–० ले हारेको थियो ।
समूह 'ई' मा रहेको मनाङ समूहको पुछारमा रहेको छ । मनाङले ३ खेलमा १ अंक जोडेको छ ।