काठमाडौं । प्रदेश नम्बर ७ ले मनमोहन मेमोरियल अन्तरप्रदेश यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
बिहिबार भएको दोस्रो खेलमा गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गर्दै प्रदेश ७ ले विजयी सुरुवात गरेको हो ।
टियु क्रिकेट मैदानमा गण्डकीले दिएको ९१ रनको सामान्य लक्ष्य प्रदेश ७ ले २२ ओभर ५ बलमा ६ विकेट गुमाएर पुरा गर्यो । प्रदेश ७ का लागि सन्देश भट्टले अविजित रहँदै सर्वाधिक ३८ रनको योगदान दिए ।
यस्तै अनिल थापाले २३ तथा आशिस भट्टले १७ रन जोडे । गण्डकी प्रदेशका लागि नितेश गिरीले ३ तथा अदित्य थापाले १ विकेट हात परे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले २० ओभर ५ बलमा अलआउट हुँदै ९० रनमा समेटिएको थियो । गण्डकी प्रदेशका लागि अभिषेक थापाले अविजित २९ रन जोडे ।
यस्तै रोशन कान्त सिग्देलले १४, अर्जुन कुमालले ११ रन र सरद तिवारीले १० रन बनाए । प्रदेश ७ का लागि सचिन बदायकले सर्वाधिक ३ विकेट हात परे । शुवास ऐरले २ विकेट लिए ।
खेलका म्यान अफ द म्याच प्रदेश ७ का सचिन बदायक घोषित भए ।