एजेन्सी । इन्ग्लिश क्लब लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले आफ्नो क्लबविरुद्ध बार्सिलोनाका लियोनल मेस्सीले गरेको प्रदर्शनले आफुलाई आश्चर्य नलागेको बताएका छन् ।
च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति सेमिफाइनलको पहिलो लेगमा मेस्सीले उच्च प्रदर्शन गरेपछि बार्सिलोनाले लिभरपुललाई ३-० गोल अन्तरले पराजित गरेको थियो । जसमा मेस्सीले २ गोल गर्दा लुइस स्वारेजले एक गोल गरेका थिए ।
पहिलो लेगमा पराजित भएपछि बोल्दै प्रशिक्षक क्लोपले मेस्सी रोक्न नसकिने खेलाडी रहेको कारण उनको प्रदर्शनबाट आफु अचम्मित नभएको बताए ।
‘यी क्षणहरुमा उसलाई कसैले रोक्न सक्दैन । हामीले उनको फ्रिकिक रोक्न सकेनौं । उनी विश्वस्तरीय खेलाडी हुन् ।’ क्लोपले भने, 'उनी विश्वस्तरीय खेलाडी रहेको मैले पुन: देखे । त्यसैले म धेरै आश्चर्य भईन् ।’
मेस्सीले दोस्रो हाफमा दुई गोल गरेका थिए । लिभरपुलविरुद्धको दुई गोलपछि मेस्सीको बार्सिलोनाका लागि ६ सय गोल समेत पुरा गरेका थिए ।