काठमाडौं । प्रदेश नम्बर ३ ले मनमोहन मेमोरियल अन्तरप्रदेश यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ ।
बिहिबार भएको खेलमा कर्णाली प्रदेशलाई ८ विकेटले पराजित गर्दै प्रदेश ३ ले लगातार दोस्रो जित निकालेको हो ।
टियु क्रिकेट मैदानमा कर्णालीले दिएको ९७ रनको लक्ष्य प्रदेश ३ ले ११ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
प्रदेश ३ का दिपक बोहराले ३५ रन बनाए । यस्तै आईश भट्टराईले अविजित ३१ रन जोडे ।
कर्णालीका सुमित माझी र रितिक जङ शाहले समान १/१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले २३ ओभरमा अलआउट हुँदै ९६ रन बनाएको थियो ।
कर्णालीका लागि बिपिन खत्रीले २५ रन जोडे । यस्तै दिलिप सुनवारले २४ तथा युनिश बिक्रम सिँहले २२ रन बनाए ।
प्रदेश ३ का दिपक बोहराले मात्र १२ रन खर्चिएर ५ विकेट लिएका थिए । यस्तै सिमान्त घिमिरेले २ विकेट लिए । खेलको प्लेयर अफ दि म्याच प्रदेश ३ का दिपक बोहरा चुनिए ।
मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा जारी प्रतियोगितामा ७ प्रदेशको ७ टिम रहेको छ । सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
प्रतियोगिताको विजेताले २ लाख ५० हजार नगद र सोहि रकम बराबरको खेल सामग्री प्राप्त गर्ने छन् । उपविजेताले १ लाख ५० हजार नगद र सोहि बराबरको खेल सामग्री पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान, बलर र इमर्जिङ खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।