एजेन्सी । प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेडका स्टार पाउल पोग्बाले आगामी सिजन क्लब छाड्ने चाहाना व्यक्त गरेका छन् । फ्रान्सेली रिपोर्ट अनुसार पोग्बाले क्लबका सहकर्मीसंग आगामी सिजन आफुले म्यान युनाईटेड छाड्न चाहेको बताएका हुन् ।
स्पेनिस क्लबले स्विकार्य मुल्य प्रस्ताव गरेमा क्लब समेत उनलाई छाड्न तयार भएको बताईएका छ ।
बेलायती पत्रिका द सनले स्पेनिस महारथी क्लब रियल मड्रिडले पोग्बा र चेल्सी स्टार इडेन हजार्ड दुवैलाई क्लबमा भित्राउन चाहेको रिपोर्ट सार्वजनीक गरेको थियो ।
पोग्बाले रियल मड्रिडबाट सरुवाको राम्रो प्रस्ताव आएको बताउँदै आफुले क्लब छाड्न चाहेको बताएका छन् ।
पछिल्ला रिपोर्ट अनुसार पोग्बाले ओल्डट्राफोर्ड छाड्दै च्याम्पियन्स लिगको उपाधिका लागि प्रतिस्पर्धा गर्न चाहेको बताउने गरेका थिए ।
विश्वकप विजेता रहेको पोग्बा पछिल्लो समय रियल मड्रिडसंग गम्भिर छलफलमा छन् ।
उनले रियलका मुख्य प्रशिक्षक जिनेदिन जिदानसंग भेट गरेर नयाँ सिजनको बिषयमा छलफल गरेका छन् ।
उनले यसअघि फ्रान्सेली लिजेण्ड जिदानको नेतृत्वमा खेल्ने आफ्नो सपना रहेको बताउँदै आएका थिए ।
युनाईटेड आफै समेत पोग्बो बहिर्गमनको बिषयमा गम्भिर रहेको छ । उनले सरुवाका लागि मन बनाउन पोग्बालाई आग्रह समेत गरेको छन् ।
प्रिमियर लिगको पछिल्लो खेलमा म्यान यु टोली एभर्टनसंग ४–० ले पराजित भएपछि मिडफिल्डर पोग्बाको भविष्यलाई लिएर ठुलो आलोचना सुरु भएको थियो ।