एजेन्सी । चेन्नई सुपर किंग्स भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।
बुधबार भएको खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सलाई ८० रनले पराजित गर्दै चेन्नई शीर्ष स्थान उक्लिएको हो ।
चेन्नईस्थित चिदामबराम क्रिकेट स्टेडियममा चेन्नईले दिएको १८० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्ली १६ ओभर २ बलमा अलआउट हुँदै ९९ रनमा समेटियो ।
दिल्लीका लागि कप्तान श्रेयस एयरले ४४ तथा शिखर धवनले १९ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्ने सकेनन् ।
दिल्लीलाई सस्तैमा रोक्न चेन्नईका इमरान ताहिरले ४ विकेट लिए । यस्तै रबिन्द्र जडेजाले ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर १७९ रन बनाएको थियो । चेन्नईका लागि सुरेश रैनाले ५९ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै कप्तान महेन्द्र सिंह धोनीले अविजित ४४ रन जोड्दा फाप डु प्लेसिसले ३९ रन बनाए । रविन्द्र जडेजाले २५ रन बनाए ।
दिल्लीका जगदीश सुचिथले २ विकेट लिए । दिल्लीले सन्दीपलाई भने खेलाएको थिएन ।
जितसंगै चेन्नईले १३ खेलबाट १८ अंक जोडेको छ ।र, दिल्लीलाई पछि पार्दै चेन्नई शीर्ष स्थानमा फर्किएको छ ।
यो जितपछि चेन्नईको क्वालिफायर पुग्ने सम्भावना बलियो बनेको छ ।
पराजित दिल्ली १३ खेलबाट १६ अंक जोडेर दोस्रो स्थानमा छ । दिल्ली प्ले अफमा यसअघि नै पुगिसकेको छ ।