काठमाडौं । नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब एएफसी कपको समुह चरणको तेस्रो खेलमा अंक जोड्न सफल भएको छ ।
भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा मनाङले आई लिग क्लब मिनेर्भा पञ्जावसंग बराबरी खेल्दै अंक बाँडेको थियो । सो नतिजामा मुख्य प्रशिक्षक छिरिङ लोप्साङ गुरुङ खुसी देखिए ।
उनले भने, ‘हामी जित्न पाएका थियौ । तर पहिलो अंक जोडेकोमा समेत खुसीनै छौ ।’
घरेलु टोलीविरुद्व धेरै अवसर सिर्जना गरेको भएपनि जित निकाल्न नसकेको मुख्य प्रशिक्षक गुरुङको भनाई छ ।
पहिलो हाफमा प्राप्त पेनाल्टी गोलमा परिणत भएको भए खेल मनाङको पक्षमा आउने उनको दाबी थियो ।
‘मौसमले समेत गाह्रो बनायो । हामी यस्तो मौसमसंग परिचित छैनौ ।’ उनले भने, ‘दोस्रो हाफमा ओलावले अफिजलाई स्थानान्तरण गरेका थियौ । तर उनले खेल्न सकेनन् । तर रणनीति परिवर्तन गरेपछि दुई गोल हुन सफल भयो ।’
मुख्य प्रशिक्षक गुरुङले घरेलु मैदानमा मिनेर्भालाई बलियो चुनौती दिने दाबी गरे ।
मिनेर्भाका प्रशिक्षकले मनाङलाई खुलेर खेल्न दिएको मौका आफुहरुले चुकाएको बताए । ‘मनाङ राम्रो टिम हो । उसले राम्रो खेल्यो ।’ उनले थपे ।
मनाङले प्रतियोगितामा पहिलो अंक जोड्यो । यद्वपी मिनेर्भाको यो तेस्रो बराबरी खेल हो ।