काठमाडौं । नेपालको लिग च्याम्पियन सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले एएफसी कपको तेस्रो खेलमा भारतीय क्लब मिनेर्भा पन्जाबसंग बराबरी खेल्दै अंक बाडेका छन् ।
बुधबार भएको तेस्रो खेलमा मनाङले घरेलु टोली मिनेर्भासंग २-२ गोलको बराबरी खेलेको हो ।
भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा मिनेर्भाका लागि श्रेयस गोपालन र करीम नुरेनले एक एक गोल गरे । मनाङका अभिषेक रिजाल र एडिलाजा सोमीडेले एक एक गोल फर्काए ।
खेलमा सुरुवाती अग्रता भने घरेलु टोलीले बनाएको थियो । खेलको आठौं मिनेटमा श्रेयसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
खेलको ४० औं मिनेटमा मनाङले पेनाल्टीको अवसर पाएको थियो । तर, सुजल श्रेष्ठले पेनाल्टीमा गोल गर्न चुक्दा मनाङले बराबरी गर्ने मौका गुमायो ।
दोस्रो हाफमा भने मनाङ खेलमा फर्कियो । खेलको ६९ औं मिनेटमा अभिषेकले गोल गर्दै मनाङलाई १-१ गोलको बराबरीमा फर्काए ।
खेलको ८६ औं मिनेटमा मिनेर्भाका नुरेनले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई २-१ को अग्रता दिलाए । तर, खेलको ९० औं मिनेटमा सोमीडेले गोल गरेपछि मनाङले २-२ गोलको बराबरी खेलेको हो ।
यो बराबरीसंगै मनाङले तेस्रो खेलपछि पहिलो १ अंक जोडेको छ । यसअघि मनाङ दुई खेलमा पराजित भएको थियो ।
प्रतियोगिताको पहिलो खेलमा मनाङ बंगलादेशको अबहानी लिमिटेडसँग १–० ले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा भारतको सुपर लिग च्याम्पियन चेन्नाईन एफसीसँग २–० ले हारेको थियो ।
समूह 'ई' मा रहेको मनाङ समूहको पुछारमा रहेको छ । मनाङले ३ खेलमा १ अंक जोडेको छ ।
पन्जाब ३ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पहिलो खेलमा चेन्नाईन एफसीसँग गोलरहित बराबरी खेलको पन्जाबले अवहानी लिमिटेडसँग २–२ को बराबरी खेलेको थियो ।
यस समूहमा चेन्नाईन एफसी ७ अंकसहित शीर्ष र ४ अंक जोडेको अबहानी लिमिटेड दोस्रो स्थानमा छ ।