काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब मेची नेत्रालय गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
झापाको काँकडभित्तामा बुधबार भएको सेमिफाइनलमा सिएमजी संकटा क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय १–१ गोलको बराबरी भएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
पुलिसलाई जित दिलाउन पेनाल्टीमा अजित भण्डारी, कप्तान भरत शाह, तिर्थ बहादुर राना र हरि कठायतले गोल गरे । पुलिसका सुमन लामाको प्रहार संकटा गोलरक्षक राजाबाबु थापाले रोकेका थिए ।
संकटाका अमित तामाङ, टम्पी एर्नेष्ट र दिपेश आले मगरले गोल गरे । पुलिसका परिवर्तित गोलरक्षक रोशन खड्काले दुई पेनाल्टी बचाए । उनले संकटाका रोमन लिम्बु र लक्ष्मण रुचालको प्रहार रोकेका थिए ।
यसअघि खेलको ७३ औं मिनेटमा मान बहादुर परियारले गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले तेज तामाङको फ्रिकिक मार्फत आएको बलमा गोल गरेका थिए । तर, खेल सकिन ३ मिनट बाँकी रहदा फोडे फोफानाले गोल गर्दै संकटालाई खेलमा फर्काएका थिए ।
खेलको म्यान अफ दि म्याच पुलिसका मान बहादुर परियार चुनिए । उनले ११ हजार नगद प्राप्त गरे ।
अब पुलिसले उपाधिका लागि त्रिभुवन आर्मी क्लब र रुस्लान थ्री स्टारबीचको विजेतासंग खेल्नेछ ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।