काठमाडौं । एपीएफ क्लब समूह विजेता बन्दै वाईवाई कर्णाली प्रिमियर लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा महेन्द्रनगर क्रिकेट एकेडेमीलाई १८ रनले पराजित गर्दै एपीएफ समूह 'बि' को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
कालिन्चोक मैदानमा टस जितेर ब्याटिङ गरेको एपीएफले २० ओभरमा ९ विकेट गुमाएर १४३ रनको योगफल तयार गरेको थियो।
एपीएफका लागि सुमित महर्जनले सर्वाधिक २६, भुवन कार्कीले २०, आयुष्मान बमले १५ र कमल सिंह ऐरीले अविजित १२ रन योगदान दिए । महेन्द्रनगरका बलर सन्तोष भट्ट र आकाश चन्दले समान ३/३ विकेट लिए।
एपीएफले दिएको १४४ रनको लक्ष्य पछ्याएको महेन्द्रनगरले २० ओभरमा ८ विकेट गुमाएर १२५ रन मात्रै बनाउन सक्यो ।उसका लागि सन्तोष भट्टले ५० रन बनाए । एपीएफका कमल सिंह ऐरीले सर्वाधिक ३ तथा भुवन कार्कीले २ विकेट लिए।
योसंगै प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ । समूह 'बि' बाट एपीएफ विजेता र उप-विजेताको रुपमा न्यु होराइजन बुटवल सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह 'ए' बाट समूह विजेताको रुपमा कर्णाली-११ र उप-विजेताको रुपमा त्रिभुवन आर्मी क्लब सेमिफाइनल प्रवेश गरेका छन् ।