काठमाडौं । प्रदेश नम्बर ३ ले मनमोहन मेमोरियल अन्तरप्रदेश यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
बुधबार भएको उद्घाटन खेलमा गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गर्दै प्रदेश ३ ले सुखद सुरुवात गरेको हो ।
टियु क्रिकेट मैदानमा गण्डकीले दिएको १०० रनको लक्ष्य प्रदेश ३ ले १६ ओभर ५ बलमा २ विकेट गुमाएर पुरा गर्यो ।
प्रदेश ३ का लागि आशिष भट्टराईले अविजित ५९ रनको अर्धशतकीय इनिङस खेले । यस्तै अभिषेक उपाध्यायले ३५ रन बनाए । गण्डकीका विश्व कार्कीले १ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले २७ ओभर ५ बलमा अलआउट हुँदै ९९ रन बनाएको थियो । गण्डकीका लागि अभिषेक थापाले २२ रन बनाए । यस्तै अनित बरालले १७ र अर्जुन कुमालले १६ बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
गण्डकी प्रदेशलाई सस्तैमा समेट्न प्रदेश ३ का लागि अजय देभले एक्लैले ६ विकेट हात पारे ।
मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा जारी प्रतियोगितामा ७ प्रदेशको ७ टिम रहेको छ । सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
प्रतियोगिताको विजेताले २ लाख ५० हजार नगद र सोहि रकम बराबरको खेल सामग्री प्राप्त गर्ने छन् । उपविजेताले १ लाख ५० हजार नगद र सोहि बराबरको खेल सामग्री पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान, बलर र इमर्जिङ खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।