एजेन्सी । वेष्ट इण्डिजका अलआउण्डर आन्द्रे रसेलले आफु विश्वकप क्रिकेटमा छक्का प्रहार गर्न आतुर रहेको बताएका छन् ।
विश्वकपका लागि वेष्ट इण्डिजको टोलीमा परेपछि बोल्दै रसेलले इंग्ल्यान्डमा आयोजना हुने विश्वकपमा छक्काको वर्षा गर्न आफु आतुर रहेको बताएका हुन् ।
आक्रामक ब्याटिङ गर्न सक्ने खेलाडी रसेल अहिले भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा व्यस्त रहेका छन् । रसेलले कोलकत्ता नाईट राइडर्सबाट निकै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
'वेष्ट इण्डिजको लागि विश्वकपमा छ्क्का प्रहार गर्न म भोकाएको छु,' रसेलले भने, 'म अहिले यहाँ (आईपीएल) मा जस्तो प्रदर्शन गरि रहेको छु सोहि लयलाई निरन्तरता दिंदै विश्वकपमा आफ्नो देशको लागि शतक प्रहार गर्न चाहान्छु ।'
विश्व क्रिकेटको कुम्भमेला विश्वकप आगामी मे ३१ बाट सुरु हुँदैछ । जसमा रसेलको टिम वेष्ट इण्डिजले पनि प्रतिस्पर्धा गर्दैछ । वेष्ट इण्डिजले पाकिस्तानविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।
यस्तै रसेलले विश्वकप टोलीमा पर्दा आफुलाई कुनै आश्चर्य नलागेको बताए ।
'विश्वकपको टिममा मेरो नाम पर्नुमा मलाई कुनै आश्चर्य लागेको छैन । मैले राम्रो गरिरहेको थिए र हाम्रा छनोट कर्ता र प्रशिक्षकसंग म निरन्तर भेट गरिरहेको थिए,' रसेलले थपे, 'म अहिले विश्वकपको लागि ध्यान दिएको छैन । अहिले म कोलकत्ताका लागि कसरि राम्रो गर्न सक्छु भन्नेमा मात्र केन्द्रित छु ।'
रसेलले सन् २०११ बाट एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए । हालसम्म उनले ५२ एकदिवसीय खेलमा ९९८ रन बनाएका छन् भने ६५ विकेट हात पारेका छन् ।
सन् २०१८ मा बंगलादेशविरुद्धको एकदिवसीय खेलपछि रसेलले पहिलो पटक टोलीमा स्थान बनाएका हुन् ।