एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा आज दुई ठुला क्लब बार्सिलोना र लिभरपुलले प्रतिस्पर्धा गर्दैछन् ।
स्पेनिस क्लब बार्सिलोना र इन्ग्लिश क्लब लिभरपुलबीचको भिडन्त आज राति १२ :४५ बजे सुरु हुनेछ । खेल बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।
क्याम्प नाउमा मैदान उत्रदा दुवै टोली जित निकाल्दै फाइनल नजिक पुग्न चाहन्छ । जसको लागि दुवै क्लबले आफ्नो सम्पूर्ण अश्त्र प्रयोग गर्नेछन् ।
घरेलु मैदान र घरेलु समर्थकको कारण बार्सिलोना लिभरपुलविरुद्ध सहज जितको खोजीमा हुनेछ । बार्सिलोनालाई कप्तान लियोनल मेस्सीको उत्कृष्ट लय र लुइस स्वारेज, फिलिपे कौटिन्हो जस्ता खेलाडीको साथले थप उर्जा दिएको छ ।
क्वाटरफाइनलमा इन्ग्लिश क्लबविरुद्ध निकालेको जितले पनि बार्सिलोनालाई राहत मिल्नेछ । बार्सिलोनाले क्वाटरफाइनलमा म्यानचेस्टर युनाईटेडविरुद्ध समग्रमा ४-० गोल अन्तरले पराजित गरेको थियो ।
तर, बार्सिलोनाका प्रशिक्षक अर्नेष्टो भालभर्डेले लिभरपुलले आफुहरुलाई चुनौती दिने बताएका छन् ।
'लिभरपुलले उत्कृष्ट खेलिरहेको छ र उनीहरुको खेलको लय निकै राम्रो छ,' प्रशिक्षक भालभर्डेले भने, 'उनीहरुलाई हराउन हामीलाई निकै कठिन हुनेछ ।'
बार्सिलोनाविरुद्ध मैदान उत्रदा लिभरपुलले मुख्य त मेस्सीलाई रोक्न प्रयास गर्नेछ । यस्तै लिभरपुल घरेलु टिममाथि जित निकाल्दै फाइनलको नजिक पुग्न चाहन्छ ।
लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोपले बार्सिलोनासंग खेल्न टिम तयार रहेको बताईसकेका छन् । उनले बार्सिलोनासंग खेल्न कठिन हुने भएपछि आफ्नो टोली तयार रहेको बताए ।
क्वाटरफाइनलमा सहज जित निकालेको लिभरपुलका लागि यस खेल अग्नि परिक्षा हुनेछ । साविकको उपविजेता टोली लिभरपुलले क्वाटरफाइनलमा पोर्टोलाई समग्रमा ६-१ ले हराएको थियो ।
लिभरपुल पोर्टोविरुद्धको जितलाई कायम राख्न चाहन्छ । मोहमद सलाह, साडियो माने जस्ता खेलाडीको उच्च लयले लिभरपुल बलियो देखिएको छ । यस्तै रोबर्टो फिर्मिन्होको आगमनले लिभरपुल थप आत्मविश्वासी देखिएको छ ।