काठमाडौं । नेपालको लिग च्याम्पियन सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले एएफसी कपको तेस्रो खेलमा आज (बुधबार) भारतीय क्लब मिनेर्भा पन्जाबसंग प्रतिस्पर्धा गर्दैछ ।
समूह चरणको अघिल्ला दुई खेल गुमाएको मनाङले तेस्रो खेलमा भारतीय आई लिग च्याम्पियन पन्जाबसंग खेल्न लागेको हो ।
भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा हुने मनाङ र पन्जाबबीचको खेल साँझ पौने ६ बजे सुरु हुनेछ ।
घरेलु टोली पन्जाबविरुद्ध मैदान उत्रदा मनाङ पहिलो जितको खोजीमा हुनेछन् । दुई खेल सकिदाँ मनाङले अंक जोड्न सकेको छैन । तर, भुवनेश्वरमा मनाङले अंक जोड्ने लक्ष्य लिएको छ ।
मुख्य प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले पन्जाबविरुद्ध दबाब रहित खेल्ने बताएका छन् ।
‘दुई खेल हारेको भएपनि खेलाडी दबाबमा छैनन् । दुई खेलमा जित हात पारेको भए सायद खेलाडीमा दबाब हुने थियो ।’ प्रशिक्षक गुरुङले भने ।
प्रतियोगिताको पहिलो खेलमा मनाङ बंगलादेशको अबहानी लिमिटेडसँग १–० ले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा भारतको सुपर लिग च्याम्पियन चेन्नाईन एफसीसँग २–० ले हारेको थियो ।
यता, पन्जाबले दुई खेलमा बराबरी खेलेको छ । पहिलो खेलमा चेन्नाईन एफसीसँग गोलरहित बराबरी खेलको पन्जाबले अवहानी लिमिटेडसँग २–२ को बराबरी खेलेको थियो ।
समूह 'ई' मा रहेको मनाङ समूहको पुछारमा रहेको छ । पन्जाब २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
यस समूहमा चेन्नाईन एफसी ७ अंकसहित शीर्ष र ४ अंक जोडेको अबहानी लिमिटेड दोस्रो स्थानमा छ ।