एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा च्याम्पियन्स टोली पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ। मंगलबार राति भएको खेलमा पीएसजी मोन्टपेल्लिरसंग ३-२ गोल अन्तरले पराजित भएको हो ।
मोन्टपेल्लिरको मैदानमा खेलको १२ औं मिनेटमा एम्ब्रोइस आयोङगोको आत्मघाती गोलबाट पीएसजीले अग्रता बनाएको थियो ।तर,खेलको २१ औं मिनेटमा प्रेस्नेल किम्पेम्बेको आत्मघाती गोलबाट मोन्टपेल्लिर खेलमा फर्किएको थियो ।
पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको खेलको ६२ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै पीएसजीलाई २-१ को अग्रता दिलाए । तर, खेलको ८० औं मिनेटमा घरेलु टोलीका एन्डी डिलोर्टले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । त्यसपछि खेलको ८५ औं मिनेटमा सौलुमाने कामराले गोल गर्दै मोन्टपेल्लिरलाई ३-२ को जित दिलाए ।
जितसंगै मोन्टपेल्लिर लिगको पाँचौ स्थानमा उक्लिएको छ । मोन्टपेल्लिरले ५४ अंक जोडेको छ ।
पराजित पीएसजी ८४ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ । र, पीएसजीले यसअघि नै उपाधि जितिसकेको छ ।