काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब सुर्खेतमा जारी वाईवाई कर्णाली प्रिमियर लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको खेलमा मध्यपश्चिम क्रिकेट क्लबलाई १०७ रनले पराजित गर्दै आर्मीले अन्तिम चारको यात्रा तय गरेको हो ।
कालिन्चोक मैदानमा टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७८ रन जोडेको थियो। आर्मीका लागि राजेश पुलामीले ५७ रन तथा हरि बहादुर चौहानले ५३ रन जोडेका थिए। मध्यपश्चिमका अमित तामाङले २ विकेट लिए ।
आर्मीले दिएको १७९ रनको लक्ष्य पछ्याएको मध्यपश्चिम १६ ओभर ४ बलमा ७१ रनमा अलआउट भयो । उसका प्रनित थापा मगरले १९, तुलसीराम अहिमले १२ र मनोज सुनार र आकाश बिष्टले समान १०-१० रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । आर्मीका कुशल मल्लले ४ विकेट हात पारे ।
जितसंगै समूह 'ए' बाट ३ खेलमा २ जित दर्ता गर्दै आर्मीले सेमिफाइनलमा स्थान बनाएको हो । यस समूहबाट कर्णालीले यसअघि नै सेमिफाइनलमा स्थान बनाईसकेको छ ।