काठमाडौं । एएफसी यु–१९ छनोटको दोस्रो चरणको खेलमा म्यानमारविरुद्व नेपालले दुई खेलाडी परिवर्तन गरेको छ ।
मुख्य प्रशिक्षक हरीओम श्रेष्ठले सलोनी राना मगर र मेनुका आले मगरलाई अन्तिम खेलमा मौका दिएका छन् ।
उनले सुरुवाती रोजाईका रेखा पौडेल र रोजिना श्रेष्ठलाई बेन्चमा राखेका छन् ।
यस्तै, फरवार्डमा रस्मी घिसिङ, मिडफिल्डमा मञ्जली योञ्जन, सरु लिम्बु, मनिषा रावत यथावत छन् ।
डिफेन्समा समिक्षा घिमिरे, पुजा राना र विमला विकेले निरन्तरता पाएका छन् ।
गोलकिपरमा अन्जना राना मगर यथावत छिन् ।
घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ । सुरुवाती दुई खेल गुमाएको नेपालको अर्को चरण पुग्ने सम्भावना भने सकिएको छ । तर, नेपाल घरेलु टोलीलाई रोक्दै अंक जोडेर घर फर्कन चाहन्छ ।
दुई खेल सकिँदा नेपालले अंक जोड्न सकेको छैन । त्यसैले बलियो टोली म्यानमारलाई रोक्न नेपाललाई कठिन भने हुनेछ । म्यानमार पनि नेपाललाई पराजित गर्दै अर्को चरणमा पुग्ने लक्ष्यमा हुनेछ । म्यानमार ३ अंक जोडेर दोस्रो स्थानमा छ । अष्ट्रेलिया ६ अंक जोडेर शीर्ष स्थानमा छ ।
छनोटको पहिलो खेलमा नेपालले अष्ट्रेलियासंग ११-१ गोलको फराकिलो हार व्यहोरेको थियो । यस्तै दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसंग ४-० ले पराजित भएको थियो ।
छनोटको शीर्ष टोलीले एएफसी यू-१९ च्याम्पियनसिपमा स्थान बनाउने छन् ।