काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने विद्यालय स्तरीय राष्ट्रिय फुटबल प्रतियोगितालाई देशकै ठुलो व्यापारिक घराना चौधरी ग्रुप (सिजी) ले प्रायोजन गरेको छ ।
प्रतियोगिताको लागि एन्फा र सिजीबीच मंगलबार प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतासंगै अब प्रतियोगिता ‘क्विक्स कप’को नामबाट संचालन हुनेछ । यसअघि एन्फाले विद्यालय स्तरीय प्रतियोगिता ‘कोकाकोला कप’ गराउँदै आएको थियो । कोकाकोला कपको नाममा रहदै आएको विद्यालय स्तरीय प्रतियोगितासंग अब सिजीको उत्पादन ‘क्विक्स’ जोेडिएको छ ।
कार्यक्रममा सिजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले फुटबलमा चमकलाई फिर्ता ल्याउन आफुहरु फुटबलसंग जोडिएको प्रष्ट पारे ।
घरेलु खेलकुदका विभिन्न विधासंग सिजी आबद्व भएपनि फुटबललाई आगामी ५ बर्ष सिजीले पहिलो प्राथमिकतामा राख्ने उनले उल्लेख गरे । युवा विकासको क्षेत्रमा काम गर्ने माध्यम खेलकुद मात्र रहेको जिकिर गर्दै चौधरीले फुटबलमार्फत आफुहरु अघि बढ्न चाहेको उल्लेख गरेका थिए ।
एन्फा अध्यक्ष शेर्पाले सोच र योजनाले मुर्तरुप पाउँदा आफुलाई खुसी लागेको उल्लेख गरे । उमेर समुहको प्रतियोगिता नभएसम्म फुटबल विकास गर्न नसकिने बताउँदै उनले नेपाली फुटबलले एक नयाँ ईतिहास रचेको दाबी गरे ।
प्रतियोगिता आगामी जेठको दोस्रो वा तेस्रो साताबाट सुरु हुने एन्फाले जनाएको छ । प्रतियोगिता ३ देखि ४ महिना संचालन हुनेछ ।
क्विक्स कप तीन तहमा हुनेछ । पहिलो चरणमा जिल्ला, दोस्रोमा प्रदेश र अन्तिममा राष्ट्रिय स्तरको प्रतियोगिता हुनेछ । प्रतियोगितामा सात प्रदेशको ५२ जिल्लाका करिब १५ सय स्कुलको सहभागिता रहनेछ ।
प्रतियोगितामा छात्रा र छत्र दुवैको प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले ५ लाख प्राप्त गर्ने छन् । यस्तै उपविजेताले ३ लाख र तेस्रोले २ लाख पाउने छन् ।
फुटबललाई आधारभुत तह देखिनै विकास गर्ने उद्वेश्यले विद्यालय स्तरको प्रतियोगितालाई थप व्यवस्थित बनाउने काम अघि बढाईएको एन्फाले जनाएको छ ।