एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज (मंगलबार) राति सेमिफाइनलको पहिलो लेगको खेलमा इङ्लिस क्लब टोटेनहम र डच क्लब अजाक्स भिड्दैछन् ।
टोटेनहमको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ ।
इटालियन क्लब युभेन्ट्सलाई पराजित गर्दै अजाक्सले सेमिफाइनल यात्रा तय गरेको थियो । टोटेनहमले प्रिमियर लिगको लिग लिडर म्यानचेस्टर सिटीलाई पाखा लगाउँदै अन्तिम चारमा प्रवेश गरेको थियो ।
टोटेनहमका प्रशिक्षक माउरिसियो पोचेटिनोले च्याम्पियन्स लिगको सेमिफाइनल यात्रालाई सपनामा बाँचेको बताएका छन् । सन् १९६२ पछि च्याम्पियन्स लिगमा टोटेनहम पहिलो पटक सेमिफाइनल खेल्दैछ ।
’तपाईंले आफ्नो लक्ष्य अगाडीनै निर्धारण गर्न आवश्यक छ ।’ पोचेटिनोले भने, ‘जब तपाइले सपना बुन्नु हुन्छ तब मात्र सो कुरा प्राप्त गर्नु हुन्छ । टोटनहमले समेत च्याम्पियन्स लिगको सपना ५ बर्ष अघिबाट देखेको थियो । जो आज पुरा भएको छ ।’
टोटनहमले समुह चरणको पहिलो ३ खेलमा मात्र एक अंक जोडेको थियो । तर पीएसभी र इन्टर मिलानविरुद्ध जित निकाल्दै उसले अघिल्लो चरणको यात्रा तय गरेको थियो । सो क्रममा उसले बार्सिलोनासंग अवे खेलमा अंक समेत खोस्न परेको थियो ।
क्वार्टरफाइनलमा जर्मन क्लब बोरुसिया डर्टमण्डलाई स्तब्ध पार्दै टोटेनहमले अन्तिम ८ को यात्रा तय गरेको थियो ।
’हामी प्रतिद्वन्दीलाई सम्मान गछौ । अजाक्सविरुद्वको खेल निकै प्रतिस्पर्धात्मक हुनेछ ।’ पोचेटिनोले थपे ।
टोटनहमका स्टार ह्यारी केन चोटका कारण मैदान बाहिर हुने पक्का छ । सन ह्युङ मिनले प्रतिबन्धका कारण आजको खेल गुमाउनेछन् । तीन खेल गुमाएका मोसा सिस्को भने अभ्यासमा फर्किएका छन् ।
आजक्स भने सन् १९९६÷९७ पछि पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनल खेल्दैछ ।
युभेन्ट्सलाई हराउँदै सेमिफाइनल पुगेको अजाक्स उच्च मनोबलका साथ मैदान उत्रने तयारी गरेको छ । अन्डर डग टिमको पहिचान बनाएको अजाक्स च्याम्पियन्स लिगमा अप्रत्यासित नतिजा निकाल्दै अघि बढेको छ ।
‘हाम्रो लयलाई निरन्तरता दिने प्रयास गर्ने छौं ।’ अजाक्सका प्रशिक्षक यरिक तेन हगले बताए, ‘हामी च्याम्पियन्स लिगको सेमिफाइनलमा छौ भन्दा साह्रै खुसी लाग्छ । सायद कसैले समेत डच क्लब सेमिफाइनल पुग्न भनेर सोचेका थिएनन् ।’
’हामीले अझ केही अघि बढ्न चाहान्छौं, हामी बिश्राम लिन चाहन्नौ ।’ उनले थपे ।