काठमाडौं । पुर्व राष्ट्रिय टोलीका सदस्य शक्ति गौचन कप्तानीमा रहेको न्यु होराइजन क्रिकेट एकेडेमीले वाईवाई कर्णाली प्रिमियर लिगमा दोस्रो जित निकालेको छ ।
मंगलबार भएको खेलमा हिमालयन क्रिकेट एकेडेमीलाई ५ विकेटले पराजित गर्दै न्यु होराइजनले दोस्रो जित निकालेको हो ।
कालिन्चोक मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हिमालयनले १८ ओभर २ बलमा अलआउट हुँदै ९२ रन बनाएको थियो ।
हिमालयनको लागि दिपेन्द्र ऐरीले सर्वाधिक २५ रन बनाए । होराइजनका अर्जुन रायमाझीले ३ तथा शक्ति गौचन र गोविन्द खत्रीले २/२ विकेट लिए ।
हिमालयनले दिएको ९३ रनको लक्ष्य न्यु होराइजनले १४ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । न्यु होराइजनका लागि निश्चल चौधरीले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सुरज दराईले ११, अर्जुन रायमाझी र शक्ति गौचनले समान १०/१० रन बनाए।
हिमालयनका पवन कार्कीले ३ विकेट तथा हेमन्त धामीले २ विकेट लिए । खेलमा प्लेयर अफ द म्याच न्यु होराइजनका निश्चल चौधरी चुनिए।
जितसंगै समूह 'बी' को न्यु होराइजनले ३ खेलबाट ४ अंक जोडेको छ । सेमिफाइनलमा पुग्ने सम्भावना कायम राखेको छ ।
यस समूहमा एपीएफको पनि ४ अंक रहेको छ । महेन्द्रनगर क्रिकेट एकेडेमीको २ अंक रहदा हिमालयनले अंक जोड्न सकेको छैन ।