काठमाडौं । साफ यु–१८ फुटबल च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ । काठमाडौंमा मंगलबार बसेको दक्षिण एसियाली फुटबल महासंघको साधारण सभाले साफ यु–१८ पुरुष फुटबल च्याम्पियनसिप नेपाललाई आयोजना गर्न दिने सहितको कार्यतालिका पारित गरेको छ ।
प्रतियोगिता सन् २०१९ को सेप्टेम्बर २० देखी २९ सम्म काठमाडौंमा हुनेछ ।
बैठकले यस बर्षका लागि उमेर समुहका तीन प्रतियोगिता आयोनजा गर्ने निर्णय गरेको छ । पुरुषको साफ यु–१५ च्याम्पियनसिप अगष्ट २२ देखि ३१ सम्म भारतमा आयोजना गर्ने र महिलाको साफ यु–१५ च्याम्पियनसिप आयोजनाको जिम्मेवारी भुटान वा बंगलादेश मध्य एक देशलाई दिने निर्णय भएको छ ।
महिला प्रतियोगिता अक्टोबर ९ देखि १८ सम्म सञ्चालन गरिने कार्यतालिकामा समावेश छ ।
नयाँ नेतृत्वको चयनसंगै साफको पहिलो साधारण सभाको बैठक काठमाडौंमा बसेको हो । यसअघि साधारण सभा श्रीलंकाको कोलम्बोमा बस्ने तय भएको थियो । तर कोलम्बो स्लामिक स्टेटको आक्रमणमा परेपछि बैठक काठमाडौंमा सारिएको हो ।
बैठकमा नेपालले साफको अध्यक्ष र उपाध्यक्ष सम्बन्धित फुटबल संघले चाहेमा फिर्ता हुने गरि विधान संशोधनको प्रस्ताव गरेको थियो । तर नेपालले अघि सारेको विधान संशोधनको प्रस्तावलाई साधारण सभाले स्विकार नगरेको उपाध्यक्ष मणि कुँवरले खेलपाटीलाई बताए ।
साधारण सभाले साफकाे आगामी आर्थिक बर्षको बजेट समेत पारित गरेको छ ।