काठमाडौं । एएफसी कप अन्तर्गत भारतीय क्लबसंग प्रतिस्पर्धा गर्न नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब भारतको भुवनेश्वर पुगेको छ ।
समूह चरणको तेस्रो खेल अन्तर्गत भारतीय आई लिग क्लब मिनेर्भा पञ्जाबसंग खेल्न मनाङ मंगलबार भुवनेश्वर पुगेको हो ।
मनाङले आगामी बुधबार मिनेर्भा पञ्जाबसंग उसैको घरेलु मैदानमा खेल्नेछ । खेल भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा हुनेछ । खेल साँझ पौने ६ बजे सुरु हुने कार्यक्रम रहेको छ ।
भुवनेश्वरमा मनाङ पहिलो जितको खोजीमा हुनेछन् । दुई खेल सकिदाँ मनाङले अंक जोड्न सकेको छैन । तर, भुवनेश्वरमा मनाङले अंक जोड्ने लक्ष्य लिएको प्रशिक्षक छिरिङ लोप्साङले बताए ।
'खेलमा फर्कन जितको आवश्यक छैन । तर दुवै टोलीलाई जित चाहिएको छ । जित निकाल्न सक्दो मेहनत गर्नेछौ ।’ खेलपाटीसंग गुरुङले भने ।
दुवै टोलीको अवस्था र स्तर एउटै रहेको बताउँदै उनले अवसरलाई सदुपयोग गर्दै जित निकाल्ने योजना रहेको बताए ।
‘दुवै टिम उस्तै छ । अवस्था समेत मिल्दो जुल्दो छ । अवसरलाई सदुपयोग गर्न नसक्दा अघिल्ला खेलमा जित निकाल्न सकिएन । अब त्यसलाई सच्चाउने कोशिश गर्नेछौ ।’ उनले थपे ।
मनाङ एएफसी कपको पहिलो खेलमा बंगलादेशको अवहानी लिमिटेडसँग १–० ले पराजित भएको थियो । दोस्रो खेलमा भारतको सुपर लिग च्याम्पियन चेन्नाईन एफसीसँग २–० ले हारेको थियो ।
यता, मिनेर्भा पञ्जाबले पहिलो खेलमा चेन्नाईन एफसीसँग गोल रहित बराबरी खेलको थियो । दोस्रो खेलमा अबहानी लिमिटेडसँग २–२ को बराबरी खेलेको थियो ।
समूह चरणको दुई खेल सकिदाँ चेन्नाईन एफसी र अबहानी लिमिटेडले समान ४ अंक जोडेका छन् । गोल अन्तरका आधारमा चेन्नाईन शीर्ष स्थानमा रहेको छ ।
दुबै खेल बराबरी गरेको मिनेर्भा पञ्जाब २ अंक सहित तेस्रो स्थानमा छ ।
दुवै खेल हारेको मनाङ समूहको पुछारमा रहेको छ ।