एजेन्सी । पेरिस सेन्ट जर्मेन पीएसजीका प्रशिक्षक थोमस टुचेलले आफ्ना स्टार खेलाडी नेयमारको आलोचना गरेका छन् । फ्रेन्च कपको फाइनलमा पराजित भएपछि समर्थकमाथि नेयमारले गरेको व्यवहारलाई लिएर प्रशिक्षक टुचेलले आलोचना गरेका हुन् ।
पीएसजी फ्रेन्च कपको फाइनलमा रेनससंग पराजित भएको थियो । सुरुवाती २–० को अग्रता लिएको पीएसजीले अन्तिममा २–२ गोलको बराबरी खेलेको थियो । अन्तिममा पेनाल्टी सुटआउट ६–५ ले गुमाएको थियो ।
खेलपछि पीएसजीका खेलाडीसंग फोनमा फोटो खिचिरहेका एक समर्थकमाथि नेयमारले हातपात गरेका थिए ।
‘तिमी समर्थकसंग लडाई गर्न पाउदैनौ । तिमी त्यसो गर्न सक्दैनौ ।’ टुचेलले भनेका छन् ।
‘मलाई समेत माथि जान निकै गाह्रो भईरहेको थियो । मेरा लागि समेत यो निकै कठिन अवस्था थियो । त्यो सबैकालागि कठिन अवस्था हो । तर तिमीले स्विकार गर्नपर्छ । यदी तिमी हार्छौं भने त्यसलाई सम्मान गर्नपर्छ ।’ उनले भने ।
पछिल्ला चार सिजन फ्रेन्च कपको उपाधि जितेको पीएसजी यसपटक कप उपाधिबाट बिमुख भयो । उसले च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा समेत म्यानचेष्टर युनाईटेडसंग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको थियो ।
‘के मैले गलत गरे ।’ नेयमारले इन्स्टाग्राममा भनेका छन्, ‘हो, तर कोही पनि फरक तरिकाले बस्न सक्दैनन् ।’
२७ बर्षिया फरवार्डले भनेका छन्, ‘कोही पनि गुमाउन चाहदैनन् ।’
उनले थपेका छन्, ‘जसले मलाई बुझेका छन्, उनीहरुलाई थाहा छ, म कत्तिको प्रतिस्पर्धी छु भनेर र हारले मलाई कत्तिको स्तब्ध बनाउछ भनेर ।’
जनवरीपछि पहिलो पटक नेयमारले सुरुवाती ११ मा रहेर खेलको सुरुवात गरेका थिए । नेयमार यतिबेला घटनालाई लिएर फ्रान्सका फुटबल अधिकारीले लिने प्रतिक्रियालाई पर्खिएर बसेका छन् ।
गत शुक्रबारमात्र नेयमारलाई युइएफएले तीन खेलको प्रतिबन्ध लगाएको थियो । च्याम्पियन्स लिगको दोस्रो लेगको खेलमा म्यानचेष्टर युनाईटेडसंग पराजित भएपछि म्याचका अफिसियलमाथि गरेको टिप्पणीको आधारमा उनलाई तीन खेलको प्रतिबन्ध लगाएको थियो ।
उनले अर्को सिजन च्याम्पियन्स लिगको समुह चरणको ६ मध्य ३ खेल गुमाउनेछन् ।