काठमाडौँ । यू–१६ राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक बसन्त शाहीले उमेर समूहका खेलाडीकालागि घरेलु क्रिकेटमा लामो ओभरको प्रतियोगिता खेलाउन आवश्यक रहेको बताएका छन् ।
एसीसी यू–१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको विजेता भएर नेपाल फर्किए लगत्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मुख्य प्रशिक्षक शाहीले सो कुरा बताएका हुन् ।
निलम्बनमा रहेको नेपाली क्रिकेट चाँडो फुकुवा हुनुपर्नेमा जोड दिदै उनले खेलाडी र क्रिकेटको बिषयमा राज्यले सोच्नुपर्ने बेला आएको बताए ।
‘पहिलो कुरा क्रिकेट बोर्ड फुकुवा हुनु जरुरी छ । क्यान फुकुवा गर्न सकिदैन भने राज्यले खेलाडीको बारेमा सोच्नुपर्छ ।’ शाहीले खेलपाटीसंग भने ।
‘दुई बर्षमा एक प्रतियोगिता खेल्नका लागि छनोट गराएर केही हुदैन । उमेर समुहका खेलाडी भनेका आधार हुन् । आधार सधै बलियो हुनपर्छ ।’ उनले थपे ।
खेलाडीको प्रर्दशनमा निखार ल्याउन बर्षमा कम्तिमा दुई दिने क्रिकेट गराउनु पर्नेमा शाहीको सुझाव छ ।
‘अहिलेको अवस्थामा उमेर समुहबाटै टी–ट्वान्टी क्रिकेट अघि बढेको छ । सबैले हतारो गरेको देखिन्छ ।’ शाहीले भने, ‘यसको प्रभाब थाइल्याण्डमा समेत देखिएको थियो । जुन कुरा नेपाली क्रिकेटमा अभाव भईरहेको छ । त्यसैले उमेर समुहको खेलाडीकालागि दुई दिने क्रिकेट प्रतियोगिता गराउन नसकेपनि बर्षमा कम्तिमा ५० वा ३५ ओभरको खेल आवश्यक देखिएको छ ।’
‘यू–१६ का खेलाडी एक दुई बर्षमा यू–१९ टोली हुँदै सिनिएर टोलीमा खेल्न योग्य बनाउन समेत लामो ढाँचाको प्रतियोगिता आवश्यक छ ।’ उनले भने ।