काठमाडौं । विभागीय टिम एपीएफ क्लब दोस्रो संस्करणको चन्द्रागिरी रोज बहिनी गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको खेलमा एनआइविएल फ्रेन्डस् क्लबलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै एपीएफले अन्तिम चारको यात्रा तय गरेको हो ।
चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा एपीएफलाई जित दिलाउन प्रविन स्याङ्तान र आशिष लामाले एक एक गोल गरे । फ्रेन्डसका बिकास लामाले एक गोल फर्काए ।
खेलको ३० औं मिनेटमा प्रविन स्याङ्तानले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । तर, एपीएफको त्यो अग्रता लामो समय टिकेन । ३३ औं मिनेटमा फ्रेन्ड्सका बिकास लामाले गोल फर्काए ।
त्यसपछि खेलको निर्धारित ९० मिनेट दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा आशिष लामाले गोल गर्दै एपीएफलाई २–१ को जित दिलाए ।
प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वा्धिक गोलकर्ताले समान ३० हजार रुपैयाँ पाउनेछन् ।