काठमाडौं । आयोजक कर्णाली-११ सुर्खेतमा जारी वाईवाई कर्णाली प्रिमियर लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गर्दै कर्णाली अन्तिम चारमा पुगेको हो ।
सुर्खेतस्थित कालिन्चोक क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर १५६ रन बनाएको थियो । उसको लागि लोकेस बमले ५० रनको अर्धशतकीय इनिङ्स खेले । ३० बलमा उनले ६ चौका र २ छक्का प्रहार गरे।
यस्तै प्रदिप रसाइलीले ३४, जितेन्द्र सिंह ठकुरीले ३० तथा कप्तान रबिन्द्र जंग शाहीले २३ रन बनाए । आर्मीका सुशन भारिले ५ तथा जितेन्द्र मुखिया र कुशल मल्लले १/१ विकेट लिए।
कर्णालीले दिएको १५७ रनको लक्ष्य पछ्याउने क्रममा आर्मीले २० ओभरमा ८ विकेट गुमाएर १४५ रन मात्रै बनाउन सक्यो ।
आर्मीका लागि बिनोद भण्डारीले ५५ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै हरि बहादुर चौहानले ३८ रन बनाए ।
कर्णालीका कृष्ण कार्की र रबिन्द्र जंग शाहीले ३/३ विकेट लिए ।
जितसंगै समूह 'ए' को कर्णालीले ३ खेलमा ६ अंक जोड्यो । कर्णालीले लगातार तीन खेलमा जित निकालेको हो ।