काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब मेची नेत्रालय गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ ।
झापाको काँकडभिट्टामा सोमबार भएको खेलमा भुटानको पारो एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै पुुलिस अन्तिम चारमा प्रवेश गरको हो ।
भुटानी क्लबविरुद्ध एकतर्फी जित निकाल्ने क्रममा पुलिसका रवि शंकर पासवानले दुई गोल गरे । यस्तै कप्तान भरत शाहले एक गोल गरे ।
पहिलो हाफमा इन्जुरी समयमा कप्तान भरतले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । यसपछि खेलको दोस्रो हाफको दुई मिनेट अन्तरमा रविले दुई गोल गर्दै पुलिसको सेमिफाइनल यात्रा पक्का गरे । रविले खेलको ५६ औं र ५८ औं मिनेटमा गोल गरेका थिए ।
यसअघि संकटा र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
प्रतियोगिता अन्तर्गत मंगलबार रुस्लान थ्री स्टार र म्याई भ्याली युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।