काठमाडौं । नेपालको लिग च्याम्पियन मनाङ मस्याङ्दी क्लब एएफसी कपको तेस्रो खेल खेल्न आज भारत प्रस्थान गरेको छ । समुह चरणको तेस्रो खेल खेल्न मनाङ भारतको भुवनेश्वर प्रस्थान गरेको हो ।
लिग च्याम्पियनको हैसियतमा एएफसी कप खेल्ने मौका पाएको मनाङले सुरुवाती दुई खेलमा हार ब्यहोरेको छ । त्यसैले अघिल्लो चरणको यात्रा तय गर्न मनाङलाई प्रतियोगितामा जित सहितको पुनरागमन आवश्यक छ ।
सोही लक्ष्य सहित मनाङ भारतका भुनवेश्वर उडेको हो ।
मनाङले भुवनेश्वरमा भारतीय आई लिग क्लब मिनेर्भा पञ्जाबसंग खेल्नेछ ।
समुह चरणको तेस्रो खेलमा मैदान उत्रदै गर्दा दबाब दुवै टोलीमा हुनेछ ।
कारण, मनाङ दुवै खेलमा पराजित छ भने मिनेर्भा पञ्जाबले दुवै खेलमा बराबरी खेल्दै अंक बाँडेको छ ।
त्यसैले अघिल्लो चरण प्रवेश गर्न दुवै टोलीलाई जित आवश्यक छ । भुवनेश्वरको कालिङ्गा रंगशालामा उत्रदै गर्दा दुवै टोली जित निकाल्न सक्दो मेहनत गर्नेछन् ।
प्रतियोगिताका लागि भनेर मनाङले घरेलु फुटबलका अधिकांश राम्रा खेलाडी क्लबमा अनुबन्धन गरेको छ । तर नाम अनुसारको नतिजा मैदानमा देखिएको छैन । त्यसको प्रत्यक्ष दबाब मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङमाथि छ ।
‘खेलमा फर्कन जितको आवश्यक छैन । तर दुवै टोलीलाई जित चाहिएको छ । जित निकाल्न सक्दो मेहनत गर्नेछौ ।’ भारत उड्नु अघि खेलपाटीसंग गुरुङले भने ।
दुवै टोलीको अवस्था र स्तर एउटै रहेको बताउँदै उनले अवसरलाई सदुपयोग गर्दै जित निकाल्ने योजना रहेको बताए ।
‘दुवै टिम उस्तै छ । अवस्था समेत मिल्दो जुल्दो छ । अवसरलाई सदुपयोग गर्न नसक्दा अघिल्ला खेलमा जित निकाल्न सकिएन । अब त्यसलाई सच्चाउने कोशिश गर्नेछौ ।’ उनले भने ।
प्रशिक्षक लोप्साङका अनुसार मनाङले सुरुवाती सेटमा केही परिवर्तन गर्नेछ ।
‘अबको खेलमा रणनीति पुर्ण रुपम परिवर्तन हुनेछ । २–४ जना खेलाडी सुरुवाती ११ मै परिवर्तन हुनेछन् । यसले खेलको नतिजामा फरक ल्याउछ भनेर सोचेका छौ ।’ उनले थपे ।
मनाङले यसअघि भएको खेलमा बंगलादेशको अवहानी लिमिटेडसंग पहिलो लेगको खेल १–० ले गुमाएको थियो । दोस्रो खेलमा चेन्नाईन एफसीसंग २–० को हार ब्यहोरेको थियो ।
समुह चरणमा दुई खेल सकिदाँ चेन्नाइन एफसी र अबहानी समान ४ अक सहित पहिलो र दोस्रो स्थानमा छन् । मिनेर्भा पञ्जाब २ अंक सहित तेस्रो स्थानमा छ । दुवै खेल हारेको मनाङ तालिकाको पुछारमा छ ।