काठमाडौं । बुधबारबाट सुरु हुने मनमोहन मेमोरियल अन्तरप्रदेश यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश नम्बर ३ र गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्ने भएको छ ।
आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टरले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको उद्घाटन खेलमा समूह 'ए' को प्रदेश ३ र गण्डकीले प्रतिस्पर्धा गर्ने जनाएको हो ।
कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा हुने प्रतियोगिताको पहिलो दिन एक खेल हुनेछ । दोस्रो दिनबाट हरेक दिन दुई खेल हुनेछ ।
आगामी बैशाख २४ गतेसम्म चल्ने प्रतियोगितामा ७ प्रदेशको ७ टिम रहेको छ । सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
१६ वर्षमुनिका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने प्रतियोगिता ३० ओभरको हुनेछ ।
प्रतियोगिताको विजेताले २ लाख ५० हजार नगद र सोहि रकम बराबरको खेल सामग्री प्राप्त गर्ने छन् । उपविजेताले १ लाख ५० हजार नगद र सोहि बराबरको खेल सामग्री पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान, बलर र इमर्जिङ खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
यस्तै आयोजकले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको पनि जनाएको छ । प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्द बहादुर पुनले गर्ने कार्यक्रम रहेको छ ।
प्रतियोगिता पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवसको अवसर बनाएर आयोजना गर्न लागिएको हो ।