काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमका दुई भरपर्दा खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेत आई लिग खेल्न आज (सोमबार) भारत जादै छन् । भारतीय आई लिग क्लब सेथु एफसीबाट खेल्न सावित्रा र अनिता भारत जान लागेका हुन् ।
नेपाली महिला फुटबल खेलाडीले भारतमा ब्यवसायीक फुटबल खेल्न जान लागेको पहिलो पटक हो ।
दुबै खेलाडीले भारतीय लिग खेल्न पाउनु चुनौती र अवसरका रुपमा लिएको बताउँछन् ।
यसअघि सावित्रा र अनिताले माल्दिभ्सको फुटसल लिग खेलेका थिए ।
‘पहिलो पटक बाहिर लिग खेल्न जादैछौ । यो अवसर पनि हो । चुनौती पनि छ ।’ राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारीले खेलपाटीसँग भनिन् ।
‘अहिले सम्म यत्तिको लामो लिग खेल्न पाएका छैनौ । भारतमा पहिलो पटक खेल्न पाउदैछौ । आफुलाई सुधार्ने मौका पाउनेछौ ।’ उनले भनिन् ।
अर्की खेलाडी अनिताले भारतीय लिग आफ्नो लागि अवसर र सिक्ने आधार रहेको बताइन् । ‘महिला फुटबलमा हामीले पहिलो पटक यस्तो अवसर पाएका छौँ । यो हाम्रो लागि इतिहास हो । केही कुरा सिकेर आउनेछौ ।’ उनले भनिन् ।
आई लिग निकै बलिया रहेको उल्लेख गर्दै अनिताले भारतीय लिगमा राम्रो प्रतिस्पर्धा हुने बताइन् ।
‘भारतीय लिगमा निकै बलिया टिम छन् । त्यहाँ पनि निकै प्रतिस्पर्धा हुनेछ । सत प्रतिशत दिदै टिमलाई जिताउन योगदान गर्नेछौँ ।’ अनिताले थपिन् ।
भारतीय आई लिगको तेस्रो संस्करण मे ५ बाट २२ सम्म लुधिआना पञ्जाबस्थित गुरुनानक मैदानमा हुनेछ । सुथे क्लबले लिगको पहिलो खेलमा मे ६ गते मनिपुर पुलिस स्पोर्टस् क्लबसँग खेल्दैछ ।
योसंगै दुई महिला फुटबलरले भारतीय लिगमा डेब्यु गर्ने सुनौलो अवसर पाउनेछन् ।
यस अघिका संस्करणमा नेपाली खेलाडीले आई लिग खेल्न पाएका थिएनन् ।
विराटनगरमा भएको साफ महिला च्याम्पियनसिप प्रतियोगितामा उच्च प्रदर्शन गरेपछि भारतीय क्लबले नेपाली खेलाडीलाई आईलिग खेलाउन अग्रसरता देखाएको हो ।
सेथुले विराटनगरमा भएको साफमा उत्कुष्ट प्रदर्शन गर्ने भारतीय खेलाडीलाई पनि टिममा समाबेश गरेको छ । उसले नेपाली दुई खेलाडी सहित भारतीय स्ट्राइकर रतनबला देबी, डाग्मी गार्सी, सन्ध्या र डिफेन्डर स्विटी देबीलाई टिममा राखेको छ ।
‘भारतीय खेलाडी हामी भन्दा निकै राम्रा छन् । हामीले लिग अवधिभर उनीहरुलाई बुझ्ने अवसर पाउनेछौ । आगामी दिनमा भारतसंग खेल्न हामीलाई निकै सहज हुनेछ ।’ उनले भनिन् ।