एजेन्सी । शीर्ष स्थानको बार्यन म्युनिखले बराबरी खेलेसंगै बुन्डेशलिगाको उपाधि होड खुल्ला भएको छ । आईतबार राति भएको खेलमा बार्यन म्युनिखले रेलिगेशन जोनमा रहेको नुरिम्बर्गसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
बार्यनको पछिल्लो नतिजाले लिगको उपाधि होड खुल्ला भएको छ ।
माथियस परेराले ४८ औ मिनेटमा गोल गर्दै घरेलु टोली नुरिम्बर्गलाई सुरुवाती अग्रता दिलाएका थिए । सर्ज ग्रान्बीले ७५ औ मिनेटमा बराबरी गोल फर्काएका थिए ।
घरेलु टोलीका टिम लिबोल्ड पेनाल्टीमा चुकेपछि बार्यन हारबाट जोगिएको थियो ।
बार्यनले दोस्रो स्थानको बोरुसिया डर्टमण्डसंग २ अंकको अग्रता लिएकाे छ । लिगमा अब तीन चरणको खेलमात्र बाँकी छ । गत शनिबार भएको खेलमा डर्टमण्ड क्लब शाल्केसंग ४–२ गोल अन्तरले पराजित भएको थियो ।