काठमाडौं । नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब आज (सोमबार) भारतको भुवनेश्वर जाने भएका छन् ।\
एएफसी कप अन्तर्गत समूह चरणको तेस्रो खेलमा भारतीय आई लिग क्लब मिनेर्भा पञ्जाबसंग खेल्न मनाङ भारत जान लागेको हो ।
मनाङ अपरान्ह ४ बजे भारत प्रस्थान गर्ने कार्यक्रम रहेको टिम व्यवस्थापक कुमार भट्टराईले खेलपाटीलाई बताए ।
‘मनाङको २७ सदस्यीय टोली भुवनेश्वर जानेछ । टिम कोलकत्ता हुँदै भुवनेश्वर जानेछ ।’ उनले भने ।
मनाङले आगामी बुधबार मिनेर्भा पञ्जाबसंग उसैको घरेलु मैदानमा खेल्नेछ । खेल भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा हुनेछ । खेल साँझ पौने ६ बजे सुरु हुने कार्यक्रम रहेको छ ।
दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । तीन खेल सकिदाँ दुबै टिमले जित निकाल्न सकेका छैनन् ।
मनाङ यसअघिका दुवै खेलमा पराजित भएको थियो । पञ्जाबले भने दुवै खेलमा बराबरी खेल्दै अंक बाँडेको थियो ।
मनाङ एएफसी कपको पहिलो खेलमा बंगलादेशको अवहानी लिमिटेडसँग १–० ले पराजित भएको थियो । दोस्रो खेलमा भारतको सुपर लिग च्याम्पियन चेन्नाईन एफसीसँग २–० ले हारेको थियो ।
यता, मिनेर्भा पञ्जाबले पहिलो खेलमा चेन्नाईन एफसीसँग गोल रहित बराबरी खेलको थियो । दोस्रो खेलमा अबहानी लिमिटेडसँग २–२ को बराबरी खेलेको थियो ।
समूह चरणको दुई खेल सकिदाँ चेन्नाईन एफसी र अबहानी लिमिटेडले समान ४ अंक जोडेका छन् । गोल अन्तरका आधारमा चेन्नाईन शीर्ष स्थानमा रहेको छ ।
दुबै खेल बराबरी गरेको मिनेर्भा पञ्जाब २ अंक सहित तेस्रो स्थानमा छ ।
दुवै खेल हारेको मनाङ समूहको पुछारमा रहेको छ ।