काठमाडौं । एपीएफ क्लबले वाईवाई कर्णाली प्रिमियर लिगमा लगातार दोस्रो जित निकालेको छ ।
आइतबार भएको खेलमा एपीएफले न्यु होराइजन बुटवललाई ३८ रनले पराजित गर्दै दोस्रो जित निकालेको हो ।
सुर्खेतस्थित कालिन्चोक क्रिकेट मैदानमा एपीएफले दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा न्यु होराइजनले २० ओभरमा ८ विकेट गुमाएर ११५ रन मात्रै बनाउन सक्यो।
न्यु होराइजनका सुरज दराईले ४० तथा निश्चल चौधरीले २१ रन बनाए । एपीएफका लागि यज्ञमान कुमालले ३ तथा भुवन कार्की र शरद भेषवाकरले २/२ विकेट लिए।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ८ विकेट गुमाएर १५३ रनको योगफल तयार गरेको थियो । उसको लागि शंकर रानाले सर्वाधिक ४८ रन तथा शरद भेषवाकरले ४१ रन बनाए । यस्तै अनिल साहले २६ रन बनाए।
न्यु होराइजनका बलर राहुल प्रजापति र अर्जुन रायमाझीले समान ३/३ विकेट लिए ।