एजेन्सी । दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको प्ले अफमा प्रवेश गरेको छ ।
नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्लीले आईतबार भएको खेलमा बैंगलोरलाई १६ रनले हराएको हो । जितसंगै दिल्लीले प्ले अफमा स्थान पक्का गरेको हाे ।
दिल्लीले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको बैंगलोरले ७ विकेट गुमाएर १ सय ७१ रन मात्र बनाउन सक्यो ।
ओपनर पार्थिव पटेलले बनाएको ३९ रन टोलीको सर्वाधिक स्कोर बन्यो । विराट कोहलीले २३, एबीडी भिलियर्स १७ रनमा आउट भएको खेलमा पुछारका खेलाडी मार्कोेस स्टोनले ३२ रन बनाए ।
बैंगलोरलाई दबाबमा राख्न अमित मिश्रा र कागिसो राबाडाले समान २/२ विकेट लिए ।
नेपालका स्टार सन्दीपले समेत दिल्लीको प्लेईङ सेटमा मौका पाएका थिए । ३ ओभर समेत बलिङ गरेका उनले विना विकेट ३६ रन खर्चिएका थिए ।
यसअघि, फिरोज शाह कोट्ला मैदानमा दिल्लीले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनाएकाे थियो ।
दिल्लीका लागि कप्तान श्रेयस एयर र शिखर धवनले अर्धशतकीय इनिङ्स खेले । कप्तान एयरले ५२ तथा धवनले ५० रन बनाए ।
यस्तै शेर्फान रुथार्फोर्डले अविजित २८ तथा अक्षर पटेलले अविजि १६ रन बनाए । दिल्लीका पृथ्वी श १८ रनमा आउट हुँदा कोलिन इम्ग्रामले ११ रन बनाए ।
बैंगलोरका युजभेन्द्र चाहलले २ विकेट लिए ।
योसंगै दिल्ली सन् २०१२ पछि पहिलो पटक आईपीएलको प्ले अफमा पुग्न सफल भयो ।
जितपछि शीर्ष स्थानमा उक्लिएको दिल्लीले १२ खेलबाट १६ अंक जोडेको छ । दोस्रो स्थानको चेन्नई सुपर किंग्सको पनि १६ अंक रहेको छ ।
चेन्नई यसअघि नै प्ले अफमा पुगिसकेको छ ।
बैंगलोर ८ अंक जोडेर पुछारमा रहेको छ ।