काठमाडौं । त्रिभुवन आर्मी क्लब मेची नेत्रालय गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार झापा काँकडभिट्टामा भएको खेलमा आर्मीले धरान फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
आर्मीको जितमा टंक बस्नेत र नवयुग श्रेष्ठले एक एक गोल गरे । धरानका मिलन राईले एक गोल फर्काए ।
प्रतियोगिताको दोस्रो क्वाटरफाइलनको तीनै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको २१ औं मिनेटमा आर्मीका टंकले गोल गर्दै खेलमा आर्मीलाई अग्रता दिलाए ।
खेलको ४० औं मिनेटमा धरानका मिलन राईले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । तर, त्यसको १ मिनेट नबित्दै राष्ट्रिय टिमका स्ट्राइकर नवयुगले गोल गर्दै आर्मीको जित निश्चित गरे ।
यसअघि भएको खेलमा आयोजक मेचि नेत्रालयलाई पराजित गर्दै संकटा सेमिफाइनल प्रवेश गरिसकेको छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।