काठमाडौं । एएफसी कप खेल्ने नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब भोली (सोमबार) भारतको भुवनेश्वर जाने भएको छ । एएफसी कपको समुह चरणको तेस्रो खेलमा भारतीय आई लिग क्लब मिनेर्भा पञ्जावसंग खेल्न नेपाली क्लब भारत जान लागेको हो ।
मनाङको टिम अपरान्ह ४ बजे भारत प्रस्थान गर्ने कार्यक्रम रहेको टिम व्यवस्थापक कुमार भट्टराईले खेलपाटीलाई बताए ।
‘मनाङको २७ सदस्यीय टोली भुवनेश्वर जानेछ । टिम कोलकत्ता हुँदै भुवनेश्वर जाने छ ।’ उनले भने ।
मनाङले आगामी बुधबार मिनेर्भा पञ्जाबको घरेलु मैदानमा समुह चरणको खेल खेल्नेछ ।
मैदान उत्रदै गर्दा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् ।
तीन खेल सकिदाँ दुबै टिमले जित निकाल्न सकेका छैनन् । मनाङ यसअघिका दुवै खेलमा पराजित भएको थियो । पञ्जाबले भने दुवै खेलमा बराबरी खेल्दै अंक बाँडेको थियो ।
खेल भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा हुनेछ । खेल साँझ पौने ६ बजे सुरु हुने कार्यक्रम रहेको छ ।
मनाङ एएफसी कपको पहिलो खेलमा बंगलादेशको अवहानी लिमिटेडसँग १–० ले पराजित भएको थियो । दोस्रो खेलमा भारतको सुपर लिग च्याम्पियन चेन्नाईन एफसीसँग २–० ले हारेको थियो ।
यता, मिनेर्भा पञ्जाबले पहिलो खेलमा चेन्नाईन एफसीसँग गोल रहित बराबरी खेलको थियो । दोस्रो खेलमा अबहानी लिमिटेडसँग २–२ को बराबरी खेलेको थियो ।
समुह चरणको दुई खेल सकिदाँ चेन्नाईन एफसी र अबहानी लिमिटेडले समान ४ अंक जोडेका छन् । गोल अन्तरका आधारमा चेन्नाईन शीर्ष स्थानमा रहेको छ ।
दुबै खेल बराबरी गरेको मिनेर्भा पञ्जाब २ अंक सहित तेस्रो स्थानमा छ ।
दुबै खेल हारेको मनाङ भने समुहको पुछारमा छ ।