काठमाडौं । एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा खराब सुरुवात गरेको नेपालले आज (आइतबार) उज्वेकिस्तानसंग खेल्दैछ ।
म्यानमारमा जारी छनोटको पहिलो खेलमा अष्ट्रेलियासंग पराजित नेपाल दोस्रो खेलमा उज्वेकिस्तानसंग खेल्न लागेको हो ।
मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा नेपाल र उज्वेकिस्तानबीचको खेल नेपाली समय अनुसार ३:१५ मा सुरु हुनेछ । र, उज्वेकिस्तानविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ ।
पहिलो खेलमा फराकिलो हार व्यहोरेको नेपाल बलियो उज्वेकिस्तानविरुद्ध अंक जोड्ने लक्ष्यमा हुनेछ । शुक्रबार भएको पहिलो खेलमा नेपाल अष्ट्रेलियासंग ११-१ गोलको फराकिलो अन्तरले पराजित भएको थियो ।
नेपाल उज्वेकिस्तानलाई पराजित गर्दै अर्को चरणको सम्भावना कायम राख्न चाहन्छ । नेपाली टोलीका कप्तान सरु लिम्बुले उज्वेकिस्तान र म्यानमारविरुद्ध जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने बताईसकेकी छिन् ।
यता, उज्वेकिस्तान पनि पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा उज्वेकिस्तान घरेलु टोली म्यानमारसंग १-० ले पराजित भएको थियो ।
उज्वेकिस्तानपछि नेपालले मंगलबार म्यानमारसंग खेल्नेछ । छनोटको शीर्ष टोलीले एएफसी यू-१९ च्याम्पियनसिपमा स्थान बनाउने छन् ।