एजेन्सी । स्पेनिस ला लिगा फुटबलको उपाधिका लागि बार्सिलोनाले आज (शनिबार) राति लेभान्तेसंग प्रतिस्पर्धा गर्दैैछ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा हुने खेल राति साँढे १२ बजे सुरु हुनेछ ।
घरेलु लिगको उपाधि यात्रामा बार्सिलोनाका लागि आजको खेल महत्वपुर्ण छ । घरेलु मैदानमा जित हासिल गरेमा बार्साले तीन खेल अगावै लिग उपाधि आफ्नो पोल्टामा पार्नेछ ।
पछिल्ला पाँच सिजनमा चौथो पटक उपाधि उचाल्न गईरहेको बार्सिलोनाका लागि घरेलु मैदानमा उपाधि जित्ने अवसर समेत प्राप्त छ । कारण, उसले सन् २०१० यता घरेलु मैदानमा भएको खेलमा लिग जित्न अवसर पाएको छैन । सबै उपाधि घर बाहिरको खेलमा जितेको छ ।
बार्सिलोनाको ३४ खेलबाट ८० अंक छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडको ७१ अंक छ । लिगमा चार खेल बाँकी रहेको अवस्थामा बार्सिलोनाले लेभान्तेविरुद्वको खेलमा जित हासिल गरेमा १२ अंकको अग्रता लिनेछ ।
सोही कारण बार्सिलोनाले आफ्नो मुख्य खेलाडीलाई आजको रातमा मैदान उतार्ने जनाएको छ ।
बार्साले च्याम्पियन्स लिगको सेमिफाईनलको पहिलो लेगको खेलमा बुधबार प्रिमियर लिग क्लब लिभरपुललाई समेत आतिथ्यता प्रदान गर्दैछ ।