काठमाडौं । थाइल्याण्डमा जारी एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले मलेसियासंग प्रतिस्पर्धा गर्ने भएको छ ।
शनिबार भएको सेमिफाइनलमा मलेसियाले सिंगापुरलाई ५७ रनले पराजित गरेपछि फाइनलमा नेपाल र मलेसिया भिड्ने भएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाउंदै १७० रन बनाएको थियो ।
मलेसियाले दिएको १७१ रनको लक्ष्यसहित ब्याटिङ गरेको सिंगापुरले ३० ओभर ४ बलमा अलआउट हुँदै ११३ रन मात्र बनाउन सक्यो ।
अब नेपाल र मलेसियाबीचको फाइनल खेल भोली (आइतबार) हुनेछ ।
पहिलो सेमिफाइनलमा हङकङलाई ४ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगिसकेको छ ।
यसअघि समूह चरणको भेटमा नेपालले मलेसियालाई ३९ रनले पराजित गरेको थियो ।
अघिल्लो संकरणमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।