काठमाडौं । एएफसी यू–१९ महिला च्याम्पियनसिपका लागि म्यानमारमा जारी दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले शुक्रबार फराकिलो हार व्यहोर्यो ।
छनोटको पहिलो खेलमा नेपाल अष्ट्रेलियासंग ११-१ गोलको फराकिलो अन्तरले पराजित भएको थियो । अष्ट्रेलियासंगको हारसंगै नेपालको एएफसी यू-१९ च्याम्पियनसिपमा छनोट हुने सम्भावना कमजोर भएको छ ।
तर, नेपाली टोलीकी कप्तान सरु लिम्बुले बाँकी दुई खेल जित्दै अघि बढ्ने बताएकी छिन् ।
अष्ट्रेलियासंगको हारपछि बोल्दै कप्तान सरुले बलियो टोलीसंग अपेक्षा भन्दा बढी गोल खाएको तर अबको बाँकी खेलको लागि तयारी गर्ने बताएकी हुन् ।
'अष्ट्रेलियासंग हामीले सोचेको भन्दा धेरै गोल खायौं । तर, अब बाँकि दुई खेलको लागि हामी तयारी गर्ने छौं र दुई खेल जित्ने कोशिस गर्ने छौं,' कप्तान सरुले भनिन् ।
नेपालले अब दोस्रो खेलमा आइतबार उज्वेकिस्तानसंग खेल्नेछ । यस्तै मंगलबार नेपालले म्यानमारसंग खेल्नेछ ।
यस्तै कप्तान सरुले अष्ट्रेलियाका खेलाडीहरु शारीरिक रुपमा निकै बलियो भएको कारण आफुहरुलाई खेल्न गार्हो भएको बताईन् ।
'अष्ट्रेलिया वरियतामा हामी भन्दा धेरै माथि छ । उनीहरु शारीरिक रुपमा निकै बलियो छ,' कप्तान सरुले भनिन्, 'उनीहरुको खेलाडीको हाइट बढी भएकोले उनीहरुलाई फाइदा भयो । त्यसैले हामीले खेल्न सकेनौ ।'
मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा अष्ट्रेलियाविरुद्ध नेपालले पहिलो हाफमा ६ र दोस्रो हाफमा ५ गोल खाएको थियो ।
अष्ट्रेलियाका लागि १६ बर्षीय खेलाडी मारी फोव्लेर एक्लैले ५ गोल गरिन् । यस्तै सुसान फोनसोङखाम, मिलिन्दा बार्बिरी, राचेल लोवे,क्यारा क्रोस,इन्डिहा रिले र शाडेनेइभानले एक एक गोल गरिन् ।
नेपालको लागि मन्जली कुमारी योञ्जनले एक गोल फर्काएकी थिईन् ।