काठमाडौं । त्रिभुवन आर्मी क्लब र न्यु होराइजन बुटवलले दोस्रो संस्करणको वाईवाई कर्णाली प्रिमियर लिग क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
सुर्खेतस्थित कालिन्चोक क्रिकेट मैदानमा आर्मीले लालीगुराँस क्रिकेट क्लब झापालाई पराजित गर्यो । यस्तै न्यु होराइजनले महेन्द्रनगर क्रिकेट एकेडेमीलाई हरायो ।
आर्मीले झापाको लालीगुराँसलाई ५८ रनले पराजित गरेको हो ।
टस जितेर ब्याटिङ गरेको आर्मीले २० ओभरमा ९ विकेट गुमाएर १७६ रनको योगफल तयार गरेको थियो । आर्मीको लागि राजु रिजालले ४९ तथा कुशल मल्लले ४२ रन बनाए । लालीगुराँसका प्रनभ शाह, यश कनडिया र तिलक मगरले समान २/२ विकेट लिए।
आर्मीले दिएको १७७ रनको लक्ष्य पछ्याउने क्रममा लालीगुराँसले २० ओभरमा ९ विकेट गुमाएर ११८ रन मात्रै बनाउन सक्यो। लालीगुराँसका विवेक राजपुतले सर्वाधिक २७ रन बनाए।
लालीगुराँसलाई सस्तैमा समेट्न जितेन्द्र मुखिया, हरि चौहान र भिम शार्कीले २/२ विकेट लिए ।
न्यु होराइजनले महेन्द्रनगरलाई ७१ रनले हरायो ।
टस जितेर पहिले ब्याटिङ गरेको होराइजनले २० ओभरमा ४ विकेट गुमाएर १६६ रनको योगफल तयार गरेको थियो।
होराइजनका सुनिल धमलाले ६० रन बनाए । यस्तै अर्जुन रायमाझीले ४० तथा सुरज दराईले अविजित २१ रन बनाए।
होराइजनले दिएको १६७ रनको लक्ष्य पछ्याएको महेन्द्रनगर १९.१ ओभरमा अलआउट हुँदै ९५ रनमा समेटियो ।
होराइजनका कप्तान शक्ति गौचनले सर्वाधिक ३ विकेट लिए। यस्तै बिकाश श्रेष्ठ र सुनिल धमलाले २/२ विकेट लिए।