काठमाडौं । एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले अहिले अष्ट्रेलियासंग प्रतिस्पर्धा गर्दैछ ।
म्यानमारको मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा अष्ट्रेलियाविरुद्ध मैदान उत्रने नेपाली टोलीको सुरुवाती-११ को घोषणा गरेको छ । खेल नेपाली समय अनुसार ३:१५ मा सुरु हुनेछ ।
नेपाली टोलीको अग्र पंक्ति रेखा पौडेल र रश्मी कुमारी घिसिङले सम्हाल्ने छिन् । यस्तै गोलकिपरमा अन्जना राना मगर रहेकी छिन् ।
टोलीको मिडफिल्डमा मन्जली कुमारी योञ्जन, सरु लिम्बु, मनिषा राउत र सबिता राना मगर रहेकी छिन् ।
नेपाली टोलीको डिफेन्समा रोजिना श्रेष्ठ, समिक्षा घिमिरे,पुजा राना र बिमला बिके रहेकी छिन् ।
दोस्रो चरणको छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित म्यानमार पुगेको नेपालले पहिलो खेलमा अष्ट्रेलियासंग खेल्न लागेको हो ।
समूह 'ए' कै सर्वाधिक बलियो टोली अष्ट्रेलियाविरुद्ध नेपाल कम्तिमा बराबरी खेल्ने लक्ष्यसहित मैदान उत्रने छ । अष्ट्रेलियालाई रोक्दै नेपाल सुखद सुरुवात गर्ने योजनामा हुनेछ ।
फिफाको महिला वरियतामा ९७ औं स्थान माथिको अष्ट्रेलियालाई रोक्न नेपाललाई कठिन चुनौती हुनेछ । महिला वरियतामा अष्ट्रेलिया छैटौं स्थानमा रहदा नेपाल १०६ औं स्थानाम छ । त्यसैले अष्ट्रेलियाविरुद्ध नेपाल कम गोल खाने प्रयासमा समेत हुनेछ ।
प्रतियोगिताअघि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक हरी ओम श्रेष्ठले समूहमा बलियो टोलीहरु रहेपनि कडा टक्कर दिने बताएका थिए ।
यता, अष्ट्रेलिया नेपाललाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ । यस समूहमा अष्ट्रेलियालाई उपाधि दाबेदार मानिएको छ ।
छनोटमा नेपालले अष्ट्रेलियापछि नेपालले अप्रिल २८ मा उज्वेकिस्तान र ३० अप्रिलमा म्यानमारसंग खेल्नेछ ।
छनोटको शीर्ष टोलीले एएफसी यू-१९ च्याम्पियनसिपमा स्थान बनाउने छन् ।
नेपालको प्लेईङ सेट :
गोलकिपर : अन्जना राना मगर
डिफेण्डर : रोजिना श्रेष्ठ, समिक्षा घिमिरे, बिमला विश्वकर्मा, पुजा राना मगर
मिडफिल्डर : सरु लिम्बु कप्तान, मन्जली कुमारी योञ्जन, मनिषा राउत, सबिता राना मगर
स्ट्राइकर : रश्मी कुमारी घिसिङ, रेखा पौडेल