एजेन्सी । वेष्ट इण्डिज क्रिकेट टोलीका अलआउण्डर आन्द्रे रसेलले आफ्नो ब्याटिङमा ठुलो फड्को मार्नुको कारण खुलाएका छन् ।
हार्ड हिटरको उपमा पाएका रसेलले आफ्नो ब्याटिङमा सुधार आउनुको मुख्य श्रेय आफ्नो सहपाठी वेष्ट इण्डिजका क्रिस गेल रहेको बताएका छन् ।
भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाईट राइडर्सबाट खेलिरहेका रसेलले आफ्नो ब्याटिङ परिवर्तनमा गेलको ठुलो योगदान रहेको बताएका हुन् । गेल किंग्स इलाभेन पन्जाबबाट आईपीएल खेलीरहेका छन् ।
एकै राष्ट्रका गेल र रसेलले विश्वका टी-ट्वान्टी लिगहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । टी-ट्वान्टी क्रिकेटमा गेललाई बादशाह नै मानिन्छ । उनले टी-ट्वान्टी खेलमा ९३८ छक्का प्रहार गरेका छन् । जुन उनलाई पछ्याउने खेलाडीको भन्दा ३०० बढी छक्का हो ।
'मेरो पावर हिटिङमा क्रिस गेलले परिवर्तन ल्याइदिए । मैले गेलबाट धेरै सिकेको हुँ,' रेसेलले भनेका छन् , 'मैले हलुङ्गो ब्याट प्रयोग गर्थे र बललाई त्यस्तो ब्याटले हिर्हाउँदा बल धेरै टाढा पुग्दैन थियो । तर, विश्वकपमा गेलले मलाई उक्त समयको भन्दा पनि राम्रो ब्याट्सम्यान भएको र अझै राम्रो ब्याटिङ गर्न सक्ने बताएका थिए । उनले म बलियो भएको कारण भारी ब्याट प्रयोग गर्न सल्लाह दिएका थिए ।'
सन् २०१६ को विश्वकप खेलेपछी रसेल आफुलाई हार्ड हिटरको रुपमा उभ्याउँदै आएका छन् ।
'सन् २०१६ को भारतमा भएको टी-ट्वान्टी विश्वकप हामीले उचाले पछि मेरो जीवनमा धेरै परिवर्तन आयो । अझ त्यो सेमी फाईनल, जहाँ मैले ४३ बलमा ४८ रन प्रहार गरेको थिए,' रसेलले थपे, 'अहिले मेरो ब्याट गरुङ्गो छ । मेरो ब्याट पछाडी थुप्रै मेकानिक्सहरु छन् र म आफ्नो ब्याटसंग धेरै समय बिताउछु ।'
यस सिजनको आईपीएलमा पनि रसेलले उत्कृष्ट ब्याटिङ गरिरहेका छन् । निकै आक्रमक खेलिरहेका रसेलले असम्भब देखिएको खेलमा पनि एक्लैले टिमलाई जित दिलाएका छन् ।