काठमाडौं । आयोजक काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर मेचीनगर गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बिहिबार भएको उद्घाटन खेलमा क्यामरुनको दाउफिन्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै मेची सेमिफाइनलमा पुगेको हो ।
नेपालमा ६ गोल्डकपको उपाधि जितेको दाउफिन्स मेचीनगर गोल्डकपमा भने पहिलो खेलबाटै बाहिरिएको छ ।
काँकडभिट्टा माविको खेलमैदानमा निर्धारित समय २-२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउट गएको थियो । पेनाल्टीमा आयोजक सफल भयो ।
पेनाल्टीमा काकरभिट्टाका निरज बस्नेत, पुजन उपरकोटी, बिकास राई, निशान लिम्बुले गोल गरे । योगेश गुरुङको प्रहार दाउफिन्सका किपरले बचाए । दाउफिन्सका प्रिसो र विक विकले गोल गरे । शिलो मार्टिन र पेटेङगाको प्रहार बाहिरिएको थियो ।
पेनाल्टी अघि दाउफिन्सका ओगेन जुनियरले दुई गोल गरेका थिए । यस्तै आयोजकका नगेन तामाङले पनि दुई गोल गरेका थिए ।
प्रतियोगिताको विजेताले १० लाख १ हजार नगद प्राप्त गर्ने छन् । यस्तै उपविजेताले ५ लाख १ हजार प्राप्त गर्ने छन् ।
प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।