काठमाडौं । दोस्रो संस्करणको वाईवाई कर्णाली प्रिमियर लिग क्रिकेटमा आयोजक टोली कर्णाली-११ ले विजयी सुरुवात गरेको छ ।
बिहिबार भएको उद्घाटन खेलमा कर्णालीले झापाको लालीगुराँस क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्यो।
सुर्खेतस्थित कालिन्चोक क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लालीगुराँसले २० ओभरमा अलआउट हुँदै १०१ रनको योगफल बनायो ।
लालीगुराँसको लागि रोनक दक्षिणीले सर्वाधिक २१ रन जोड्दा अजय यादबले २० रन बनाए । कर्णालीका किशोर महतो र दिवान पुनले ३/३ विकेट लिए ।
लालीगुराँसले दिएको १०२ रनको लक्ष्य आयोजक कर्णालीले १४ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
कर्णालीका लागि कप्तान रबिन्द्र जंग शाहीले अविजित ४५ रन बनाए । यस्तै निश्चल रावलले ३१ रन बनाए ।
खेलको प्लेयर अफ द म्याच किशोर महतो घोषित भए ।
कर्णाली क्रिकेट एकेडेमीको आयोजनामा सुरी प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, मध्यपश्चिम क्रिकेट क्लब बाँके, आयोजक कर्णाली एघार र लालिगुराँस क्रिकेट एकेडमी झापा रहेका छन्। त्यस्तै समूह ‘बि’ मा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, महेन्द्रनगर क्रिकेट एकेडमी कञ्चनपुर, न्यु होराइजन बुटवल र हिमालयन क्रिकेट एकेडेमी काठमाडौं रहेका छन्।
दुवै समूहबाट दुई शीर्ष टिमले सेमीफाइनलमा स्थान बनाउनेछन्।
प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ तथा उप-बिजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै प्लेयर अफ द म्याच घोषित हुने खेलाडीले ३५०० रुपैयाँ तथा प्रतियोगितामा उत्कृस्ट घोषित हुने बलर र ब्याट्सम्यानले समान २०,००० र प्लेयर अफ द सिरिजले ५०,००० प्राप्त गर्नेछन्।